सुनिता डंगोलको जोड : काठमाडौँ फिल्म फेस्टिभललाई नागरिकको अपनत्वसहित विस्तार गरिने
काठमाडौँ फिल्म फेस्टिभल
काठमाडौँ, १० कात्तिक । काठमाडौँ महानगरपालिकाले संस्कृति, सम्पदा र परम्परासँग जोड्दै नागरिकको अपनत्वमा आधारित काठमाडौँ फिल्म फेस्टिभललाई क्रमशः विकास, विस्तार र प्रवर्द्धन गर्ने जनाएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पहिलो संस्करणबाट प्राप्त अनुभव र सुझावका आधारमा फेस्टिभललाई थप परिष्कृत गर्दै लैजाने बताउनुभएको छ ।
काठमाडौँ फिल्म फेस्टिभलमा सहभागी हुन सांघाई फिल्म एकेडेमीअन्तर्गत फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर काठमाडौँ आइपुग्नुभएको छ । उहाँले कात्तिक १५ गते नेपाल पर्यटन बोर्डमा ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बीच चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नुहुनेछ ।
फेस्टिभलका कार्यक्रम र सहभागी चलचित्रकर्मीबारे जानकारी दिन महानगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाटमा कार्यवाहक प्रमुख डंगोलले फेस्टिभललाई नागरिक, संस्कृति, सम्पदा र परम्परासँग जोडेर अघि बढाउने महानगरको उद्देश्य रहेको बताउनुभयो ।
मार्को मुलरसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी काठमाडौँमा, कार्तिक १३ देखि फेस्टिभल
‘फेस्टिभलको पहिलो यात्रा थालेपछि नै सुधारको अवसर प्राप्त हुन्छ । हामीले यात्रा थालेका छौँ । आवश्यकताका आधारमा सुधार र विस्तार गर्दै जानेछौँ,’ उहाँले भन्नुभयो, ‘नागरिकलाई केन्द्रमा राखेर संस्कृति, सम्पदा र परम्परासँग जोड्दै अघि बढ्नु हाम्रो डीएनए हो । यसलाई क्रमशः विकास, विस्तार र प्रवर्द्धन गर्दै जानेछौँ ।’
उहाँले नेपालमा चलचित्र उद्योगको संस्थागत विकास हुनुअघि नै विश्वका विभिन्न स्थानमा सुरु भएका चलचित्र महोत्सवहरू पनि समयक्रममा परिष्कृत हुँदै गएको उल्लेख गर्दै काठमाडौँ फिल्म फेस्टिभललाई समेत सिकाइ र सुधारको प्रक्रियाबाट अघि बढाइने बताउनुभयो ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको जानकारी दिनुभयो । फेस्टिभलले काठमाडौँभित्र रहेका तर अहिलेसम्म पर्याप्त रूपमा बाहिर आउन नसकेका कथाहरूको खोजी गर्नुका साथै यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सौन्दर्य र महत्त्वलाई विश्वमाझ चिनाउन योगदान पुर्याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले फेस्टिभललाई सबैको साझा उत्सवका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामी सबैलाई समेटेर अगाडि बढ्न चाहन्छौँ । कसैलाई छुटाउने हाम्रो नियत छैन । आफैँले आयोजना गरेको फेस्टिभल सम्झेर सहभागी हुनुहोला,’ उहाँले भन्नुभयो, ‘देश चिनाउने र सबैलाई अटाउने गरी फेस्टिभल आयोजना गरेका छौँ । सबैले अपनत्व लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’
फेस्टिभलमा सहभागी हुन जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हासहित विभिन्न देशका चलचित्रकर्मी तथा कला क्षेत्रका व्यक्तित्वहरू पनि काठमाडौँ आउने कार्यक्रम छ । आमन्त्रित विदेशी पाहुनाले नेपाली कलाकार, चलचित्र निर्माता, वितरक, प्रवर्द्धक, प्रदर्शक तथा रचनात्मक उद्योगसँग सम्बन्धित व्यक्तिहरूसँग उद्घाटन समारोह, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद, प्यानल छलफल र मास्टर क्लासमा सहभागी भई अनुभव आदानप्रदान गर्नुहुनेछ ।
फेस्टिभलको क्रिएटिभ डाइरेक्टर तथा क्युरेटर आयूषा श्रेष्ठले कार्यक्रम तालिकाबारे र आर्टिस्टिक डाइरेक्टर रम्यता लिम्बूले प्रदर्शन गरिने चलचित्रबारे जानकारी दिनुभएको थियो । कार्यक्रमअनुसार कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रा तथा उद्घाटन समारोह आयोजना हुनेछ । कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा भारतीय अभिनेत्री शबाना आजमी ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागी हुनुहुनेछ । सोही दिन राष्ट्रिय सभागृहमा नाकामुराले यामागाता युनेस्को फिल्म सिटीका सर्ट फिल्मबारे परिचयात्मक प्रस्तुति दिनुहुनेछ । यसै दिन नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य विषयमा प्यानल छलफलसमेत हुनेछ ।
भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सिर्जनात्मक सहरहरूको प्रवर्द्धनमा चलचित्र र महोत्सवको भूमिकासम्बन्धी प्यानल छलफलमा सहभागी हुनुहुनेछ । कात्तिक १५ गते हुने अवार्ड समारोह, राष्ट्रिय सभागृहको रेड कार्पेट तथा पुरानो नेपाली चलचित्र ‘के घर, के डेरा’ को प्रदर्शन पनि फेस्टिभलका प्रमुख आकर्षण रहनेछन् । सोही दिन नेपाल पर्यटन बोर्डमा मार्को मुलरको मास्टर क्लाससहित अन्य अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछन् ।
फेस्टिभलका विभिन्न सत्रमा नेपाली चलचित्र क्षेत्रमा आबद्ध कलाकार, निर्माता, वितरक, प्रवर्द्धक, प्रदर्शक तथा चलचित्र विधामा अध्ययनरत विद्यार्थीको सहभागिता रहनेछ । रेड कार्पेटमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ पुस्ताका कलाकार, बालकलाकार र विभिन्न विधाका स्रष्टासहित आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उदाहरणीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सहभागी गराइनेछ । यसले चलचित्र क्षेत्रको योगदान र विशिष्ट पहिचानलाई सम्मान गर्ने आयोजकको अपेक्षा छ ।
काठमाडौँ महानगरपालिकाले स्थानीय कला, भाषा, संस्कृति र सम्पदासँग सम्बन्धित कथालाई चलचित्रमार्फत उजागर गर्दै काठमाडौँको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरेको हो । फेस्टिभलका कार्यक्रम निःशुल्क सञ्चालन गरिने र चलचित्र प्रदर्शनका लागि निःशुल्क सिट आरक्षण टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
