सिरहाकाे सुखीपुर स्वास्थ्य चौकी सामान्य वर्षामै जलमग्न हुन्छ
सिरहा, २४ साउन । पानीको निकास नहुँदा सिरहाको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ ।
जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् । स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्षा सुरु भएसँगै अस्पताल क्षेत्र पूरै डुबान हुन्छ । थोरै वर्षामा पनि अस्पताल आउजाउ गर्न समस्या हुन्छ । लामो समय वर्षा हुँदा त अस्पताल भित्रै पानी पस्छ ।” पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उहाँको भनाइ छ ।
पानी निकासबारे पटकपटक सम्बन्धित निकायमा पहल गरिए पनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताउनुभयो । “वरिपरी अन्य संरचना बनेपछि अस्पताल क्षेत्र होचो हुँदा सामान्य वर्षामै पोखरीमा परिणत हुन्छ । यसले अस्पतालमा बिरामीको सेवा प्रभावित हुँदै आएको छ,” सिंहले भन्नुभयो साथै उहाँले अस्पताल जस्तो संवेदलशील क्षेत्रमा पानी जम्ने समस्या हुँदा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना उत्तिकै रहेको बताउनुभयो ।
अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष्य किशोरीप्रसाद चौधरीले जानकारी दिनुभयो । आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा काम बाँकी रहेकाले नगरपालिकासामु पटक–पटक पहल गरिए पनि सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ ।
नगरप्रमुख रामऔतार यादवले पानी निकासमा आएको समस्याका बारेमा बुझेर चाँडै निराकरण गर्ने बताउनुभयो ।