साउनको अन्तिम सोमबार एक लाख बढीले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ, २८ साउन । साउनको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएको छ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

भगवान शिवजीको महिना र बार भएकाले पनि साउनको सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गरेको विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । थापाका अनुसार आज साउनको अन्तिम सोमबार भएकोले अघिल्ला सोमबारको तुलनामा बढी भक्तजन आएका हुन् ।

आज काठमाडौँ उपत्यकाका पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायतका मन्दिरहरुमा महादेवको पूजा आराधना गर्न भक्तजनहरुको भीड लागको छ ।