रामेछापकाे दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता
रामेछाप, ९ भदौ । रामेछापकाे दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएकाे पहिराेले पुरिएर छ जनाको मृत्यु भएको छ भने अन्य चार जना हराइरहेका छन् ।
अविरल वर्षासंगै गएराति आएकाे पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको हाे भने चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले दिनुभएकाे जानकारी अनुसार वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको छ । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका थिए । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।