पलेशालाई काठमाडौँ महानगरपालिकाबाट ५ लाख रुपैयाँ नगदसहित सम्मान
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। बुधवार काठमाडौं महानगरपालिकाको कार्यपालिकाको कार्यालय काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका मेयर बालेन शाहले सम्मान पत्र र उपमेयर सुनिता डंगोलले चेक हस्तान्तरण गरेको हो ।
त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शम्शेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदिप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागीता रहेको थियो।
पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन्।