एनपीएल : जनकपुरविरुद्ध काठमाण्डु गोर्खाजको ब्याटिङ
काठमाडौं, १२ कात्तिक । नेपालमा आयोजना भइरहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा काठमाण्डुले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल काठमाण्डुका लागि यस संस्करणको पहिलो खेल हो । टोली जनकपुरलाई हराउँदै विजयी सुरुआत गर्ने लक्ष्यमा छ । जनकपुर भने पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएकाले पहिलो जितको खोजीमा छ ।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्नेछन् । अपराह्न ५ बजे सुरु हुने खेलमा कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । सोमपाल कामीको नेतृत्वमा रहेको कर्णालीले पहिलो खेलमा पूर्वविजेता जनकपुरलाई १९ रनले हराएको थियो ।
विराटनगर भने पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । त्यसैले विराटनगर पनि प्रतियोगितामा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ ।
तेस्रो संस्करणको एनपीएलमा आठ टोली सहभागी छन् ।
