सातवटा सहकारी संस्थालाई कारवाहीको लागि सीआईबीलाई पत्राचार

काठमाडौँ। काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुको अनुगमन फेरि सुरु गरेको छ । महानगरले ४० वटा विभिन्न सहकारी संस्थाहरूको अनुगमन गर्दा ७ वटालाई अनुसन्धान र कारबाहीको थप प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ।

महानगरले २०८० को चैत १६ देखि गत असार ७ गतेसम्म महानगरभित्रका सहकारीहरूको अनुगमन गरेको थियो। अनुगमनपछि तयार पारिएको प्रतिवेदनका आधारमा उक्त सहकारीहरूमध्ये ६ वटा बचत तथा ऋण सहकारी संस्था र एउटा बहुउद्देश्य सहकारीमा कैफियत देखिएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ।

जसमा बचत तथा ऋण सहकारी संस्थातर्फ सुमेरु, स्क्वायर, रुरल डिभलेपमेन्ट, सत्कार, महाबौद्ध र नमो हारती रहेका छन् । यसैगरी थप एक आधारभूत बहुउद्देश्य सहकारी संस्था रहेको छ।

बचत संकलन, संकलित रकम परिचानल, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरिएको जानकारी महानगर सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दिएको छ।

महानगर सहकारी नियमन महाशाखा प्रमुख एंव अनुगमन समितिका सदस्य सचिव सुशील सुवेदीले अनुगमनका क्रममा ३२ सहकारीलाई स्पष्टीकरणका लागि सोधिएको उनीहरूले सफाई पाइसकेको जनाए। काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गाम्भीर्यता हेरी अधिकतम पाँच लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *