प्रचण्डको असंसदीय राजनीतिले सदनमा किचलो, सत्ताबाहिर पुगेपछि अतिवादी अभिव्यक्ति दिँदै

सुर्खेत, २० भदाै । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताबाहिर पुगेपछि अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार बिहान सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डको असंसदीय राजनीतिले सदनमा समेत किचलो भइरहेको बताउनुभएकाे हाे ।

महासचिव पोखरेलले भन्नुभयाे ‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ । प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशका उदाहरण दिन हुन्नथियाे त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको पोखरेलको भनाइ थियो ।

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’, उहाँले भन्नुभयाे, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

२०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने उहाँले दाबी गर्नुभयाे ।