पशुपतिनाथमा हरितालिका तीजकाे तयारी पूरा, तीन बजे नै चारै ढोका खोलिने

काठमाडौँ, २० भदाै । भगवान् श्रीपशुपतिनाथ मन्दिरमा हरितालिका तीजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

शुक्रवार नेपाली महिलाले हर्षोल्लासपूर्वक तीज पर्व मनाउँदैछन्। यसका लागि पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको हाे।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले तिजका लागि आवश्यक सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएकाे छ ।

भगवान् श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिणावृत्त चप्पलकक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको उहाँले बताउनुभयाे।

त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

पिङ्गलास्थानबाट वनकाली, चार शिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई चौसट्ठी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

तिलगंगा राममन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ।

उहाँले दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको बताउनुभयाे ।

उहाँले श्रीपशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाकन वेला समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएकाे बताउनुभयाे । पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइएकाे समितिले जनाइएकाे छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *