आज हरितालिका तीज पर्व भगवान् शिवको पूजा आराधना गरी धुमधामका साथ मनाइँदै
काठमाडौं, २१ भदाै । भाद्र शुक्ल तृतीया अर्थात आज हरितालिका तीज पर्व भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ ।
आजकाे दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको पाइन्छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाए । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् बताउँछन् ।
काठमाडौं उपत्यकासहित देशभरि नै सिमसिमे पानी परिरहेको छ । वर्षा भइरहेपनि देशभरका शिवालयमा व्रतालुको भीड छ ।