हरितालिका तीजमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भीड(तस्वीरहरु)

काठमाडौँ, २१ भदौ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा रहुन्जेल खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड देखिन्छ ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चारवटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउने गरी सबै व्यवस्था गरेको जनाएको छ ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ ।

भक्तपुरका प्रमुख शिवालयमा आज बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ । ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरूको भीड लागेको हो । मेला व्यवस्थापन समितिले दर्शनका लागि आएका महिलाहरूको दुई किलोमिटर लामो लाइन लागेपछि टोकन दिएर व्यवस्थापन गरिरहेको छ ।

त्यस्तै सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरूको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले बिहानैदेखि दर्शनार्थीको भीड लागेको जानकारी दिनुभयो । यहाँ बर्तालुलाई लक्षित गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको उहाँले बताउनुभयो ।

हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बर्तालु महिला, पुरुषको भीड लागेको छ ।

तस्वीरहरु….

तस्बिरः किरणराज विष्ट/रासस

 तस्बिरःप्रदीपराज वन्त/रासस
 तस्बिरःप्रदीपराज वन्त÷रासस