नाइटलाइफवाट निद हराम ।। आचारसंहिताको बेवास्ता ।।
काठमाडौँ । पर्यटकीय नगरी काठमाडौंको मुटु ठमेलको पर्यटन व्यवसायमा नाइटलाइफ अर्थात रात्रिकालीन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। यसो भएतापनि रात्रिकालीन व्यवसाय खुला भएपछि ठमेलका स्थानीयवासीको निद भने हराम हुन थालेको छ। रात छिप्पिँदै जाँदा यहाँका स्थानीय वासिनदाहरु आरामले सुत्न सक्दैनन् । नामी साप्ताहिकको समाचार अनुसार, निदाउँन नसक्नुको एउटै कारण रात्रिकालीन ठमेलको चर्को ध्वनि प्रदूषण नै हो ।
कोभिड महामारी पछि बन्द भएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ। सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो। रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् ।
बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको स्थानीयको गुनासो छ। ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको उनीहरु बताउँछन्। रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय रमेश महर्जन भन्छन्।
होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए। ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उनले भनेका छन् ।
“ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ”, शर्माले भने, “जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन्। राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ।” सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उनको गुनासो छ ।
शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन्। कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन सकिएको छैन् ।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गरे ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन्। परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पु-याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन्।
त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ। डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र सुस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ।
