पहिरोमा पुरिएका बारेकोट गाउँपालिकाका वडा सदस्य दम्पती मृत फेला
जाजरकोट, २३ भदाै । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएर बेपत्ता भउका वडा सदस्य दम्पती मृत फेला परेका छन् ।
गएरातिको पहिरोमा घरसँगै पुरिएर ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको मृतावस्थामा शव फेला परेको हाे ।
पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयाे । मृतक प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य हुनुहुन्छ ।
मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको अध्यक्ष गिरीले जानकारी दिनुभयाे ।
शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।