‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

काठमाडौँ, २४ भदौ । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।

ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उहाँहरु नेपाल आउनुभएको हो । कलाकार सिद्दिकीले आफू नेपाल पहिलो पटक आएको बताउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताउनुभयो । “म नेपाल पहिलो पटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ”, उहाँले भन्नुभयो, “ फेरि पनि नेपाल अवश्य आउँछु ।” त्यस्तै, निर्देशक कश्यपले नेपालको चलचित्र क्षेत्रको स्तरोन्नति हुँदै गएकोमा प्रशंसा गर्नुभयो ।

प्रिमियरमा नेपाली, भारतीय कलाकारदेखि नेताहरुको बाक्लो उपस्थिति थियो । चलचित्र हेर्नकै लागि आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन आकर्षित गर्ने अर्को कलात्मक माध्यम चलचित्र रहेको बताउनुभयो । उहाँले सकेसम्म पर्यटक भित्र्याउने र एक पटक नेपाल आएका पर्यटकलाई पटकपटक आउन प्रेरित गर्ने खालका गतिविधि गर्न जरुरी रहेको सुनाउनुभयो ।

भामको चलचित्र साम्बालाले पर्यटन आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो । साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ ।