सत्तापक्षले उपसभामुख हटाउने तयारी गरेसंगै रास्वपामा काेहाेलाे
काठमाडाैं, २५ भदाै । सत्ता गठबन्धन दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएको छ ।
सत्ता गठबन्धन दलको छलफलकाे तयारीले राष्ट्रिय स्वतन्त्र पार्टीमा एक किसिमकाे काेहाेलाे सृजना भएकाे छ । महाभियोग लगाउने तयारी आधिकारीक रूपमा पुष्टि भएपछि रास्वपा पनि छलफलमा जुटेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै हटाउनुपर्ने प्रस्ताव गर्नुभएकाे थियाे ।
त्यही अनुसार अहिले गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । राजीनामा नआए आजै आचरणविपरीत कार्य गरेको प्रस्ताव दर्ता गर्नसक्ने सत्ता गठबन्धन दलहरूको तयारी छ ।
उपसभामुख राना असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा तानिएकी थिइन् । यसैलाई आधार बनाएर गठबन्धन सरकारले उपसभामुखलाई हटाउन लागेको रास्वपा नेताहरूले आशङ्का व्यक्त गरेका छन् ।
