साल्ट ट्रेडिङ आजदेखि ६२ वर्षमा प्रवेश, असाेज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने

काठमाडाैं, २७ भदाै । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ६२औँ वर्षमा प्रवेश गरेकाे छ ।

जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले आज ६२औँ वार्षिकाेत्सव मनाएकाे हाे ।

स्थापना दिवस समारोहमा साल्ट ट्रेडिङ कर्पोरेशनले असाेज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने जनाएकाे छ । वार्षिकाेत्सवकाे अवसरमा कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको जनाएकाे छ । कर्पोरेशनले आगामी दिनमा कारोबार र सेवा क्षेत्र पनि विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्पोरेशनले छ दशक लामाे यात्रा पार गरेर आएकाे यस संस्थाले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताउँदै कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको बताउनुभयाे ।

उहाँले ‘प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय भएकाे बताउनुभयाे ।

उहाँले सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको बताउँदै कर्पोरेशनकाे व्यबसायिकता र सेवा प्रवाहकाे हैसियतमा अहिले जति भइरहेकाे छ त्याे भन्दा बढी क्षेत्राधिकार बिस्तार हुनुपर्ने बताउनुभएकाे छ ।

कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताउनुभयाे । उहाँले कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन थप पहल गर्ने पनि बताउनुभयाे ।

वार्षिकाेत्सवकाे अवसरमा कर्पोरेशनले उत्कृष्ट सेवा गरेका कर्मचारीहरुलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरा/छोरीहरुलाई छात्रवृत्ति समेत प्रदान गरेकाे थियाे । उक्त समारोहमा बालबालिकाहरुको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार समेत प्रदान गरिएकाे थियाे ।