बागलुङमा गाडी दुर्घटना, पुथा गाउँपालिका उपाध्यक्षसहित तीनजनाकाे मृत्यु
काठमाडौं, २८ भदौ । बागलुङमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष सहित तीनजनाकाे मृत्यु भएकाे छ ।
आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा उक्त गाडी दुर्घटना भएको हाे ।
दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।
उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरुसमेत भएकाे प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताउनुभयाे । दुर्घटनामा मृत्यु हुने अरुको भने सनाखत हुन बाँकी छ ।
रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो ।
अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको नेपाली सेना र सशस्त्र प्रहरीले जनाएकाे छ ।