दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीले बगाएर दुई किशोर

कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले दुई किशोर बगाएका छन् ।

महाकाली नदीले बगाएर ल्याएकाे दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।