साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
काठमाडौँ, ४ असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।
आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
“साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधारहुँदै जाने बताउनुभयो । कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदी ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताउनुभयो ।
उहाँले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँच देखि सात प्रतिशतसम्म बढ्नसक्ने बताउनुभएको छ । “यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यस कारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा छ,” उहाँले भन्नुभयो, “तर धान भित्र्याउने बेलामा मौसमले साथ दिनुपर्छ ।”
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आव भन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धी भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो ।