बिहीबार भारी वर्षा र हिमपातको सम्भावना, सातै प्रदेशमा मौसम बदली हुने
काठमाडौँ, ९ कात्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
मङ्गलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। मङ्गलबार राति भने देशभर आंशिक बादल लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
बुधबार देशभर साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात तथा ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
