आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौँ, ९ कात्तिक । नेपाली क्रिकेटमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजे खेल सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको थियो।
एनपीएलका अघिल्ला दुई संस्करणमा लुम्बिनी र सुदूरपश्चिम तीन पटक आमनेसामने भएका छन्। तीमध्ये सुदूरपश्चिमले दुई खेल जितेको छ भने लुम्बिनीले फाइनलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको थियो।
अघिल्लो संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो। त्यसअघिको संस्करणको लिग चरणमा पनि सुदूरपश्चिम ४५ रनले विजयी भएको थियो।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, शेरफन रदरफोर्ड र फेबियन एलेनलगायतका खेलाडी छन्।
त्यस्तै, रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा सन्दीप जोरा, रुबेन ट्रम्पलम्यान, डार्शी शर्ट, निरोशन डिक्वेला, आसिफ शेख, किशोर महतो र दिलीप नाथलगायतका खेलाडी समावेश छन्।
