गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

क्रिकेट क्लब

काठमाडौँ, कार्तिक ९ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी क्रिकेट क्लब ‘चितवन राइनोज’ले आफ्नो नामसँग जोडिएको दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्ना टिसर्टलगायतका सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत गैँडा संरक्षणमा खर्च गर्ने जनाएको छ ।

चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले यस्तो पहल गरिएको बताउनुभयो । “हाम्रो नाम नै गैँडासँग जोडिएकाले यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ,” उहाँले भन्नुभयो ।

चितवनको पहिचानका रूपमा रहेको एकसिङ्गे गैँडालाई क्रिकेटको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउँदै आएको क्लबले गैँडाको तस्बिर अङ्कित सामग्रीमार्फत संरक्षणको सन्देशसमेत प्रवाह गर्दै आएको छ । चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा रहेको क्लबले पर्यापर्यटनका लागि विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज र यहाँ पाइने दुर्लभ गैँडाको पहिचानलाई खेलकुदसँग जोडेर प्रवर्द्धन गरिरहेको छ ।

एनपिएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ स्थानमा सीमित भएको थियो । यसपटक भने उपाधि जित्ने लक्ष्यसहित टोली मैदानमा उत्रिन लागेको क्लबका निर्देशक प्रताप देवकोटाले बताउनुभयो । उहाँका अनुसार टोलीलाई समर्थन गर्न चितवनको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकस्थित चितवन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न स्थानमा खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ ।

क्रिकेटको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व र संरक्षणका गतिविधिमा पनि क्लब सक्रिय रहेको निर्देशक देवकोटाले बताउनुभयो । क्लबले स्थानीय क्लबहरूलाई सहयोग गर्नुका साथै भोटेकोशी बाढीबाट प्रभावितलाई राहत सहयोग गरेको छ । जिल्लामा आयोजना हुने विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा प्रायोजकका रूपमा सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले गैँडा संरक्षण र क्रिकेटको विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले एनपिएलमा सहभागी आठ टोलीमध्ये एक टोली चितवनको नामबाट स्थापित हुनु जिल्लाका लागि गौरवको विषय भएको बताउनुभयो । खेलकुदले अनुशासनको विकास गर्नुका साथै युवासहित आम नागरिकलाई सकारात्मक गतिविधिमा आकर्षित गर्ने भएकाले यस्ता क्लबको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

चितवन राइनोजको सहभागिताले जिल्लामा क्रिकेटप्रतिको आकर्षणसमेत बढाएको छ । टोलीको तयारी र खेलसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थलमा खेलप्रेमीको चहलपहल बढ्ने गरेको छ । जिल्लाका सडक किनारका पोल, होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थलमा क्लबको लोगो अङ्कित झण्डा राखेर समर्थकले टोलीप्रति उत्साह व्यक्त गरिरहेका छन् ।

आजदेखि एनपिएलको तेस्रो संस्करण सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिताको विजेता टोलीले रु एक करोड ५० लाख र उपविजेताले रु ८० लाख पुरस्कार प्राप्त गर्नेछन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । यसले नेपाली क्रिकेटको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *