सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाने

काठमाडौं, ८ असोज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली सहकारीको अनुसन्धानका लागि पोखरा जाने भएकाे छ ।

सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्नका लागि सीआईबीको टोलीलाई पोखरा पठाउन लागिएको हो ।

सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले टेक्निकल सहयोगका लागि टोली पठाउन लागिएको बताउनुभयाे ।

यसअघि पनि सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोलीलले सहयोग गरेको थियो । सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको थियो ।

समितिले रकम अपचलनको आरोपमा पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वसाझेदार छविलाल जोशी, रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने, गोर्खा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो ।

पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वसाझेदार छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेर ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

सूर्यदर्शन सहकारीबाट बचतकर्ताका १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ अपचलन भएको भेटिएको प्रहरीले जनाएकाे छ ।