प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे हवाई उडान प्रभावित

काठमाडौँ, १० असोज । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ ।

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् । काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फकिर्एको छ । सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटोबाटै काठमाडौँ फर्किएको छ ।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ ।