सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक : गृहमन्त्री लेखक
काठमाडौँ, १० असोज । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताउनुभएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)द्वारा आज काठमाडाैंमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिनुभयो ।
उहाँले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
संविधानले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई सङ्घ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीनवटै तहका सरकारको समन्वय तथा सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तीनवटै सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले ‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकायसँगको सहकार्य तथा निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताउनुभयो । परियोजनाले सङ्घलगायत आठ स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन क्षेत्रको संस्थागत विकासमा पुर्याएको योगदानको उहाँले प्रसंशा गर्नुभयो ।
अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजनामार्फत उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिनुका साथै आगामी दिनमा समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।