ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि विराटनगर तनावग्रस्त

विराटनगर, १८ असाेज । ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि विराटनगर तनावग्रस्त बनेको छ ।

विराटनगरको रानीस्थित आईसीपी रोडमा दुर्घटनापछि आक्रोशित स्थानीयले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् ।

प्रहरीले भिड नियन्त्रण गर्न केही थान अश्रुग्यास समेत प्रहार गरेको छ ।

बिहीबार बेलुका झण्डै ७ बजे ना. ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर-१८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्‍याएलगत्तै साहको मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका-५ का ३० वर्षीय दिपक यादवलाई पक्राउ गरिसकेको जनाएकाे । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीकाे भनाइ छ ।

सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।