बाढीपहिरो पीडित लाभग्राहीहरुको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

ललितपुर, २० असोज । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभएको छ ।

ललितपुरको गोदावरीमा आज बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उहाँले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

“सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ”, गृहमन्त्री लेखकले, “क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक भएकाे बताउनुभयाे ।

गृहमन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिनुभएको थियोे । यसैक्रममा उहाँले पहिरोले क्षति पुर्याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गर्नुभयो । अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई रु दुई लाखका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराउनुभएको थियो । उहाँले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइँने जानकारी गराउनुभयो ।