रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की, ८ कात्तिक । सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

लामिछानेलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालते ६ दिन म्याद थपेको थियो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।