काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचनासंगै प्रहरीले थाल्याे जाँच

काठमाडाैं, १२ कात्तिक । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएसंगै प्रहरीले चेकजाँच गर्न थालेको छ ।

सोमबार अपराह्न दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

आज अपराह्न ३: १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।

उनकाअनुसार अहिले ४० जना यात्रुलाई उतारिसकेको छ। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज आज अपराह्न ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो।