रवि लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति
काठमाडाैं, २५ कात्तिक । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ ।
आइतबार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले १३ दिन म्याद थप गरेको हो। सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले २५ दिनको म्याद थपको माग गरेको थियो।
रवि कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका थिए।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि १३ दिन म्याद थपिएको हो।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।
उनीहरू विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।