गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ
काठमाडौं, २८ कात्तिक । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।
मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । मनाङेलाई प्रहरीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।
उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
उक्त फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो ।
सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक-पटक मन्त्री बने ।