सरकारले १६ लाख किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको एचपीभी खोप नि:शुल्क लगाइने
काठमाडाैं, २८ कात्तिक । सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क एचपीभी खोप लगाउने भएकाे छ ।
सरकारकाे मंगलबार बसेकाे बैठकले एचपीभी खोप लगाउनेबारे मन्त्रिस्तरीय निर्णय गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयाे ।
आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी एचपीभी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। अभियान १५ दिनसम्म चल्नेछ।
यो निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।
किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयाे। ‘धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं। किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं,’ उहाँले भन्नुभयाे।
मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेको उहाँको सचिवालयले जानकारी दिएको छ।