पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय, शाेक विदा आजै
काठमाडौँ, ३ मङ्सिर । सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आजै सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भन्नुभयाे, “पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ” “राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको पनि उहाँले बताउनुभयाे ।”
बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियाे । उहाँ मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवासमेत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।