पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, ३ मङ्सिर । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

त्यस अवसरमा
दिवंगत ढुङ्गानाको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।

पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

यसअघि ढुङ्गानाको पार्थिव शरीर सानाे गौचरणमा राखि उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो ।

नेपाल सरकारले आजै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।