सत्र सय किलाे गाँजासहित सप्तरीबाट एक जना पक्राउ

सप्तरी, ४ मङ्सिर । सप्तरीकाे राजगढ गाउँपालिका–४ बाट १७ सय ३६ किलाे गाँजासहित एक जना पक्राउ परेका छन् ।

राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपरमा बालुवा र गिट्टीले छोपेर ल्याएकाे उक्त परिमाणको गाँजासहित चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई गाँजासहित पक्राउ गरिएकाे छ ।

प्रहरीले राईलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएकाे जनाएकाे छ ।