रवि लामिछानेलाई हवाई टिकट नहुँदा काठमाडौं ल्याउन ढिलाइ, बेलुकी सम्म ल्याउन सकिने

काठमाडाैं, ११ मङ्सिर । सहकारीको रकम अपचलन गरेको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्कीको पोखराबाट काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आज बिहान ११ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले लामिछानेकाे यात्रा ढिलाइ भएको हाे ।

लामिछानेलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाई जहाजबाट काठमाडौं पठाउने भनिएको थियो ।

लामिछानेलाई हवाई टिकट प्राप्त भए आज साँझसम्म काठमाडौं ल्याउने सम्भावना रहेको श्राेतले जनाएकाे छ ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराउने कार्यतालिका छ ।