प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयाे आफैले पढ्नुभएकाे विद्यालय भवन
पाँचथर, २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिनुभएको तेह्रथुमको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवनकाे आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
यसै क्रममा उहाँले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभएकाे विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।
प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।