३०औँ महानगर दिवस सम्पन्न, दश जना स्रष्टालाई जनही डेढलाख र २३६ जना परम्परागत बाजा गुरुलाई नगदसहित सम्मान (तस्बिरहरू)

काठमाडाैं, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाकाे ३०औँ वार्षिकोत्सव (महानगर दिवस) भव्यताकासाथ सम्पन्न भएकाे छ ।
राष्ट्रिय सभा गृहमा आयोजित महानगरपालिकाकाे ३०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयाेजना गरी सम्पन्न भएकाे हाे । महानगरपालिकाले वार्षिकोत्सवकाे अवसर पारेर १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ भने २३६ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गर्नुभएकाे छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतले चित्रकार किरण मानन्धरसहित १० जनालाई नगधसहित सम्मान गरिएको हो ।
लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।
खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित हुनुभएको छ । सम्मानित व्यक्तित्वलाई नगद रु एक लाख ५० हजारसहित पुरस्कार प्रदान गरिएको हो ।
समारोहमा उपप्रमुख सुनिता डंगोलले २३६ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गर्नुभएकाे छ ।
सम्मानित हुने गुरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट शिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु-धिमे गुरु र ५४ जना दाफा खिं गुरु हुनुहुन्छ । गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस हुनुभएका २५ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट शिफारिस हुनुभएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट ९ टोलबाट शिफारिस हुनुभएका १५ जना गुरु हुनुहुन्छ । यस्तै केन्द्रीय मानन्धर संघबाट सिफारिस हुनुभएका ३ टोलका ३ जना र विभिन्न संघसंस्थाहरुबाट शिफारिस हुनुभएका ७ जना बाजा गुरुलाई सम्मान गरिएको हो ।
समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो ।