चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

सोलुखुम्बु, १४ पुस । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ ।

सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको छ ।

मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।”

पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ”, उहाँले भन्नुभयो ।

चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ । पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा प्रशान्त शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बिरामी धेरै वृद्धि भएको छ, आकस्मिक कक्ष त्यत्तिकै भरिभराउ छभने शय्यासमेत खाली छैन, केही दिनअघि पनि शय्या अभावमा भुइँमा राखेर पनि बिरामीको उपचार गरिरहेका छौँ ।”

चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झनै बढी देखिएको स्थानीयले बताएका छन् । खुम्बुमा पछिलो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय बन्द भएको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो । अधिकांश विद्यालय बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो ।

चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् ।

उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायत क्षेत्रमा जाने गरेका छन् । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका अमृत मगरले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् ।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेका साथै गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायत ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ ।

जिल्ला सदरमुकामसहित खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमा पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेका बेला पनि जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय माया शेर्पाले बताउनुभयो ।

यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । चिसोका कारण विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित बनेको छभने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् ।