ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का

काठमाडौँ, २० पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ ।

लालुपाते हाइड्रोपावरद्वारा मनाङको नासोङ गाउँपालिका–२ मा निर्माण हुन लागेको ४९.९५ मेगावाटको दानाखोला हाइड्रोपावरको वित्तिय व्यवस्थापन हस्ताक्षर समारोहमा शुक्रबार साँझ आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने बताउनुभएको हो ।

“सरकारले आम्दानीको मुख्य स्रोतका रुपमा जलविद्युत् क्षेत्रलाई लिएको छ, स्रोतलाई अधिकतम प्रयोग गरेर नीजि क्षेत्रलाई साथमा लिएर यस क्षेत्रको विकास गछौँ, देशभित्रका लगानीकर्तालाई उत्साहित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उहाँले भन्नुभयो । आयोजना ओगटेर बस्न नहुने उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैका लागि हुने भन्दै गरिब र विपन्न जनताको लागि सरकारले न्यूनतम व्याजदरमा शेयर खरीद गर्ने व्यवस्था मिलाउन लागेको उल्लेख गर्नुभयो । उहाँले देशका अधिकाशं स्थानमा मोटरबाटो पुगेकाले आयोजना निर्माणका लागि अब धेरै समय नलाग्ने बताउनुभयो ।

उहाँले छिमेकी मुलुक भारतसहित अन्य मुलुकसमेतले नेपालबाट विद्युत् आयत शुरु गरेकाले बजार सुनिश्चित भएको भन्दै आयोजना निर्माणमा लाग्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा विद्येयकलाई परिमार्जन गरेर अगाडि बढेमात्र सरकारले १० वर्षमा २८ हजार पाँच सय विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पुरा हुने बताउनुभयो ।

मनाङको नासोङ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले आयोजना प्रभावित बासिन्दालाई आयोजनाले रोजगारी र शेयरको शुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

विस २०८४ कात्तिक २ गतेसम्म सक्ने लक्ष्यका साथ निर्माण हुन लागेको दानाखोला हाईड्रोपावरमा मुख्य लगानी सानिमा बैँकको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *