रवि लामिछाने उपस्थित भए रूपन्देही अदालत

काठमाडाैं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्।
बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएका हुन् । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।
बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएको थियो।
लामिछाने मंगलबार साँझ नै केही कानुन व्यवसायीको साथमा भैरहवा पुगेका थिए।
लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा भने माघ २ गते काठमाडौं अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।