मुख्य दुई दलबीच सहकार्य मजबुत छ : महासचिव पोखरेल

काठमाडाैं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा मुख्य दुई दलबीचको सहकार्य मजबुत रहेको बताउनुभएको छ ।

महाेत्तरीकाे बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै महासचिव पोखरेलले मुलुकका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गर्नुभयो ।

“हामीबीच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ”, पोखरेलले भन्नुभयो, “सबैले स्पष्ट भए हुन्छ, हामी त्यसैअनुरुप अघि बढेका छौँ ।”

पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उहाँको भनाइ छ । यसले आर्थिक सूचकहरुमा क्रमशः सकारात्मक सुधार देखाएको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गर्नुभयो । यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन–२०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ । विसं २०८४ को निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ सङ्कल्प लिएर अघि बढेको उहाँले बताउनुभयो ।

“मुलुकको समृद्धिको सपना एमालेले देखेको छ, मधेस भन्नोस् वा पहाड र हिमाल”, पोखरेल भन्नुहुन्छ, “सबै क्षेत्रको सन्तुलित विकास एमाले नेतृत्वमै सम्भव छ ।” अहिले मुख्य विपक्षी दलका नेताले वर्तमान सरकार अप्राकृतिक बनेको भन्दै हिँडेको सन्दर्भ जोड्दै पोखरेलले बढी मत पाउने मुख्य दल मिलेर बनेको सरकार अप्राकृतिक भन्नु सत्ताबाट बाहिरिनु परेको छटपटीमात्र भएको बताउनुभयाे ।