रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश
काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रूपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि आइतबार थुनछेक बहस पछि अदालते यस्तो आदेश दिएको हो ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेललगायतले आजै बहस गरेका थिए । त्यसलगत्तै सरकारी वकिलले जवाफी बहस गरेका थिए ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरूको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । लामिछाने पक्षका वकिलहरूले भने राज्यले प्रतिशोध साँधेको तर्क गरेका थिए ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बुधवार पहिलोपटक रूपन्देही अदालतमा उपस्थित भएका थिए ।
सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ लामिछानेको नाममा ऋण गएको भेटिएको बताएको थियो ।
उनी यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्कीमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका थिए ।