रवि लामिछानेकाे मुद्दामा थुनछेक बहस सम्पन्न, आदेश आउने तयारी
काठमाडाैं, १४ माघ । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनछेक बहस सम्पन्न भएको छ।
वादी र प्रतिवादी दुवै पक्षको बहस सकिएपछि न्यायाधीशले आदेशकाे तयारी गरेकाे हाे। अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार सरकारी वकिलको जवाफी बहससँगै मुद्दाको बहस चरण सकिएको हो।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, पशुपति भण्डारी र नारायण कँडेलले बहस गरेका थिए।
सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका लामिछाने आज चौथो दिन पनि अदालतमा उपस्थित भएका छन्। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा दर्ता भएपछि उनले पहिलो दिनमै बयान दिएका थिए। त्यसयता उनी परिवार र वकिलको जिम्मा जमानीमा रहँदै आएका छन्।
यो मुद्दामा अब न्यायाधीशको आदेश नै महत्वपूर्ण हुने देखिएको छ। आदेशले लामिछानेको थुनछेक सम्बन्धी विषयमा स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ। यस मुद्दाले राजनीतिक र कानूनी क्षेत्रमा व्यापक चासो जगाएको छ।