सुन्तला खेतीले दोसल्ले गाउँको मुहार फेरियो
म्याग्दी, १४ माघ । म्याग्दीको दोसल्ले गाउँमा सुन्तला खेतीले स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याएको छ। १४ वर्षसम्म विदेशमा काम गरेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेती गरेर आत्मनिर्भर बनेका हुन्। उनले १२ वर्षअघि रोपेको सुन्तलाका बोटबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्छन्।
पहिले दोसल्लेका धेरै मानिस रोजगारीका लागि विदेश जान बाध्य थिए। तर, अहिले गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन्। ४२ घरधुरी रहेको दोसल्ले गाउँमा यस वर्ष सुन्तला बिक्रीबाट १ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ। पोखरा र काठमाडौंका व्यापारीहरू गाउँमै आएर सुन्तला किन्ने गरेका छन्।
दोसल्ले व्यावसायिक सुन्तला किसान समूहका अध्यक्ष प्रेम पाइजाका अनुसार गत वर्ष ८० लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो भने यस वर्ष आम्दानी दोब्बर बढेको छ। गाउँमा १० हजार सुन्तलाका बोट छन्।
२०६८ सालमा माटो परीक्षण गरेर सुरु गरिएको सुन्तला खेती अहिले गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ। धान, मकै, कोदो फल्ने खेतबारीमा अहिले सुन्तलाका बोटहरू छन्। नयाँ बोटहरूले पनि फल दिन थालेकाले केही वर्षमा वार्षिक ३ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ।
गाउँका सबै घरमा सुन्तला खेती गरिएको छ। पहिले बसाइँसराइ गरेकाहरू पनि गाउँ फर्केर सुन्तला खेतीमा लागेका छन्। बेनीमा व्यवसाय गर्ने विकास श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले समेत व्यावसायिक सुन्तला खेती गरिरहेका छन्। गाउँका मानिसहरूले परम्परागत अन्नबाली छाडेर सुन्तला खेतीमा ध्यान दिएका छन्।
सुन्तला खेतीले गर्दा गाउँमा रोजगारी सिर्जना भएको छ । मानिसहरू आफ्नै गाउँमा काम गरेर खुसी छन्। सुन्तलाका साथै आलु र अन्य तरकारी खेती, बाख्रापालन र कुखुरापालन पनि यहाँका मानिसहरूले गर्ने गरेका छन्। बाली संरक्षण विभाग, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाले सुन्तला खेतीमा सहयोग गरेका छन्।
जिल्लामा यस वर्ष ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। म्याग्दीमा ८२० हेक्टर जमिनमा सुन्तला खेती गरिएको छ। किसानले आफ्नो बगैंचाबाट प्रतिकिलो ६० देखि १२० रुपैयाँसम्ममा सुन्तला बेच्ने गरेका छन्।
