कोशी प्रदेशसभा बैठकमा विधेयक पारित

काठमाडाैं, १५ माघ । कोशी प्रदेशसभाको बैठकले एउटा महत्वपूर्ण विधेयक पारित गरेको छ। आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले स्वीकृत भएको हो।

प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले पेश गरेको यो विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।

बैठकको शून्य समयमा विभिन्न सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राखे। विशेष समयमा एमालेका इन्द्रमणि पराजुलीले शिक्षालाई प्राथमिकतामा राख्दै स्पष्ट शिक्षा नीति बनाउनुपर्ने माग गर्नुभयो।

माओवादी केन्द्रका राजन किराँतीले भ्रष्टाचार नियन्त्रण र ताप्लेजुङ केबलकार विवादबारे आफ्नो धारणा राख्नुभयो। कांग्रेसकी शोभा चेम्जोङले पर्यटन विकासका लागि केबलकार आवश्यक रहेको तर स्थानीयको हितलाई ध्यान दिनुपर्ने बताउनुभयो।

प्रदेशसभाको अर्को बैठक माघ २१ गते दिउँसो १ बजे बस्ने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *