बागलुङमा ‘कालो टीका’ अभियान: घरमा सुत्केरी हुने दर घट्दो
बागलुङ, १६ माघ । बागलुङ जिल्लामा स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रोत्साहन गर्नका लागि ‘कालो टीका’ अभियान थालिएको छ।
निसीखोला गाउँपालिकाका आमा समूहहरूले यो अभियान अन्तर्गत घरमा सुत्केरी गराउने महिलाको घरमा कालो टीका लगाउने गरेका छन्। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षित हुने र कुनै समस्या आइपरेमा तत्काल उपचार गर्न सकिने भएकाले यो अभियान सुरु गरिएको हो।
निसीखोला गाउँपालिकाका अधिकांश वडामा यो अभियान सञ्चालन गरिएको छ। अन्य पालिकामा पनि यसलाई ‘साथ’ को रूपमा अभ्यास गरिएको छ। निसीखोला–६, तिर्खापानीकी निरुता बुढाले स्वास्थ्य संस्था जान नमानेपछि घरमै सुत्केरी भएकी थिइन्। त्यसपछि आमा समूहले उनको घरमा कालो टीका लगाइदिएका थिए।
तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै बच्चा जन्माएकी थिइन्। स्वास्थ्य चौकीले उनलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरे पनि उनी घरमै बसेर सुत्केरी भएकी थिइन्। उनको घरमा पनि कालो टीका लगाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार गर्भवती भएपछि आठ पटकसम्म गर्भ जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने हुन्छ। तर, निसीखोलाका कतिपय महिलाले यो नियम पालना नगरेको पाइएको छ। कतिपयले भौगोलिक कठिनाइका कारण स्वास्थ्य संस्थामा जान नसकेको बताएका छन्।
निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाका अनुसार कालो टीका लगाउनुलाई नराम्रो मानिन्छ र यो घरमा सुत्केरी गराउने चलनलाई निरुत्साहित गर्ने सामाजिक विधि हो। घरमा सुत्केरी भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले तत्कालै आमा र बच्चाको स्वास्थ्य जाँच गर्ने र आवश्यक उपचारको व्यवस्था मिलाउने गरिएको छ।
ग्रामीण भेगका महिलाहरू गर्भ अवस्थामा पनि खेतीपाती र गोठालो जाने भएकाले स्वास्थ्य जाँच र संस्थागत सुत्केरी सेवा लिनबाट वञ्चित हुने गरेको पाइएको छ। घरपरिवारले पनि वास्ता नगर्दा महिलाहरू घरमै सुत्केरी हुन बाध्य हुने गरेको बताइएको छ।
कालो टीकाबाट बच्नका लागि सुत्केरीपछि पाँच वर्षसम्मका बालबालिकालाई सबै खोप लगाउनुपर्ने र आमाले आइरन चक्की खानुपर्ने प्रावधान छ। स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई दबाब दिनका लागि कालो टीका लगाउने गरिएको निसीखोला–३, स्कुलटोल आमा समूहकी अध्यक्ष कौशिला चन्दले बताइन्।
निसीखोलामा घरमै सुत्केरी हुने र गर्भजाँच नगराउनेको संख्या धेरै छ। आर्थिक वर्ष २०७९/८० मा एक सय आठ जना सुत्केरीमध्ये २८ जना मात्र स्वास्थ्य संस्थामा आएका थिए। १२ जना घरमै सुत्केरी भएका थिए। चालु वर्षको छ महिनामा १६ जना स्वास्थ्य संस्थामा र दुई जना घरमा सुत्केरी भएका छन्।