बाह्र किलोको काउली फलाएर उदाहरणीय बनेका खत्री: ‘विदेश जाने सोच कहिल्यै आएन’
बागलुङ, २० माघ । बागलुङ नगरपालिका-९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाएर चर्चामा आएका छन्।
उनले गत वर्ष आफ्नै ‘खत्री एग्रो फार्म’ मा नौ किलोको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानको रूपमा पुरस्कार पाएका थिए। २०६६ सालमा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती सुरु गरेका खत्री अहिले यस क्षेत्रकै सफल किसानको रूपमा परिचित छन्।
पुरस्कार पाएपछि काउली उत्पादनमा थप मेहनत गरेको बताउँदै खत्रीले भने, “यस वर्ष १२ किलो ८८० ग्रामको काउली फलाउन सफल भएँ।” उनले १८ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन्।
साथीभाइहरू वैदेशिक रोजगारीमा जाँदा पनि खत्रीलाई कहिल्यै विदेश जाने सोच नआएको र गाउँमै उद्यमी बनेको उनको भनाइ छ। स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लागेका खत्रीले वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनले अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरिसकेका छन्।
तरकारी खेती फस्टाएपछि उनले आठ रोपनी जग्गा भाडामा लिएका छन् र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै व्यवसायिक तरकारी खेती गर्दै आएका छन्। खत्रीको फार्ममा आठवटा प्लास्टिक टनेल छन्, जसमा दुईवटा हाइटेक र अरू परम्परागत टनेल छन्। कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगले आफू सफल भएको उनले बताए।
