महिला टी-२० आइ क्रिकेट: नेपालको तेस्रो हार, नेदरल्याण्ड्ससँग १५ रनले पराजित

काठमाडौं, २० माघ । महिला टी-२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँगको खेलमा नेपाल १५ रनले पराजित भएको हो।

जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन्। उनले ३२ बलमा एक छक्का प्रहार गरिन्। त्यस्तै, सम्झना खड्काले २३, पूजा महतोले १८, कविता जोशीले १४ र सीता रानामगरले अविजित १० रन बनाइन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडिन्। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। त्यस्तै, हिटर सिगर्सले २६ तथा रोबिन रिके र फेबी मोलकिनरले समान २१ रन बनाइन्।

नेपालका लागि सीता रानामगरले ५ विकेट लिइन्। मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु वर्माले समान १/१ विकेट लिइन्।

प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ। नेपालले यसअघि पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो। नेपालले अब माघ २२ गते थाइल्याण्डसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *