क्यानडामाथि नेपालको रोमाञ्चक जित, ओडिआई मान्यता जोगाउने सम्भावना बलियो

काठमाडौँ, २५ असोज । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले क्यानडाविरुद्ध २४ रनको महत्त्वपूर्ण जित हात पारेको छ। जारी प्रतियोगितामा नेपालको यो १२औँ जित हो। यो जितसँगै नेपालको एकदिवसीय अन्तरराष्ट्रिय (ओडिआई) मान्यता जोगाउने सम्भावना अझ बलियो बनेको छ।

ओमानको मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको मध्यम योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट र जिम्मेवार ब्याटिङ गर्दै सानदार शतक प्रहार गरे। उनले १०७ बलमा ८ चौका र १ छक्काको मद्दतले १०१ रनको शतकीय पारी खेले। यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे। क्यानडाका लागि बलिङतर्फ अखिल कुमारले सर्वाधिक चार विकेट लिए।

२३६ रनको विजय लक्ष्य पछ्याउने क्रममा क्यानडा ४८.४ ओभरमा २११ रनमै अलआउट भयो। क्यानडाका लागि आरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, तथा श्रेयस मोभ्वा र हम्जा तारिकले समान २६/२६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

नेपालको कसिलो बलिङसामू क्यानडाका अन्य ब्याटर टिक्न सकेनन्। नेपालका लागि ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै समान दुई/दुई विकेट हात पारे।

यो जितसँगै नेपाल आइसिसी विश्वकप लिग-२ को अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। नेपालले हालसम्म खेलेका ३३ खेलमध्ये १२ मा जित र १९ मा हार व्यहोरेको छ भने २ खेल अङ्क बाँडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *